पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयले न्याय दिनेछ: माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको दाबी गरेका छन् ।शनिवार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले न्यायलयबाट न्याय पाइनेमा विश्वास व्यक्त गरेका छन्।
आफू र आफ्नो पार्टी सबै गलत आरोपहरुका विरुद्धमा दृढतासाथ उभिने पनि उनले बताए। ‘मलाई विश्वास छ। न्यायपालिकाले न्याय दिनेछ र न्यायको जित हुनेछ। न्यायको जित हुनुपर्छ, अन्यायको हार हुनुपर्छ,’ अध्यक्ष नेपालले भने। न्यायालयको विश्वास गरेरै देशमा कानुनी राज अगाडि बढाउन आफूले चाहेको उनले बताए।
‘मैले भन्ने गरेको छु–नबिराउनु, नडराउनु,’ अध्यक्ष नेपालले भने, ‘जब कुनै कुत्सित मनशाय छैन, निजी स्वार्थ भएर कुनै काम भएको छैन भने, आफ्नो फाइदा र लाभका लागि कुनै भएको छैन भने आत्तिनुपर्ने जरुरी छैन।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री समेत रहेका नेपालमाथि पतञ्जलिको हदबन्दी जग्गा किनबेच प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसैबारे प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
२०८२ जेठ २४ गते शनिवार १७:२१ बजे प्रकाशित























