शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले दियो थप ५ दिनको समय
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई पाँच दिनको समय दिएको छ ।
आइतबार समितिबाट विधेयक टुंगो लगाउने तयारी भए पनि शिक्षामन्त्री रघुजी पन्तले बैठक स्थगित गर्न माग गरेपछि केहि समय छलफल भएको छ ।
बैठकमा समितिका बहुमत सदस्यले आइतबार नै विधेयक पारित गर्नुपर्ने माग राखे पनि शिक्षामन्त्री पन्तले सहमति नजुटेका विषय सहमति जुटाउनका लागि समय मागेका थिए ।
‘पाँच दिनभित्र सहमति गरेर आउनू । त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ,’ समिति सभापति अम्मरबहादुर थापाले भने ।
यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो ।
फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री रघुजी पन्तले समय माग गरेका हुन् ।
२०८२ असार २२ गते आइतवार १७:११ बजे प्रकाशित






















