"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री ओलीको चीन भ्रमण: रूसी राष्ट्रपति पुटिनसँग भेटवार्ता हुने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी भदौ १४ गतेदेखि १८ गतेसम्म (सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) जनवादी गणतन्त्र चीनको पाँच दिने औपचारिक भ्रमणमा जाने भएको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आसन्न चीन भ्रमणबारे जानकारी दिँदै भ्रमणको मुख्य उद्देश्य चीनको थियानजिन शहरमा हुने साङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिनु रहेको स्पष्ट गरे।

सन् २००१ मा स्थापना भएको एससिओ हाल विश्वकै ठूला क्षेत्रीय संगठनमध्ये एक हो। यसका सदस्य मुलुकमा चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस रहेका छन्। नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार राष्ट्रका रूपमा सक्रिय रहँदै आएको छ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङ्गसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए।

साथै, उनले एससिओ शिखर सम्मेलनका अवसरमा विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको बताए। हालसम्म रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा। मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा। सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेट तय भइसकेको छ।

२०८२ भदौ १३ गते शुक्रवार १७:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु