"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे विशेष समारोहका बिच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजक समितिका ३१५ जना गरी कुल दुई हजार ३४१ जना सहभागी हुने पार्टीले जनाएको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ सम्पन्न हुने महाधिवेशनलाई भव्य र सभ्य बनाउन आवश्यक तयारी पूरा भएको पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन पेस गर्ने तयारी गरिएको छ ।

विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ । स्थायी कमिटीमा कम्तीमा एक महिला अनिवार्य हुने प्रावधानसमेत प्रस्ताव गरिएको छ ।

सङ्गठनात्मक प्रतिवेदनमार्फत पार्टी निर्माणका चुनौती, समाधानका उपाय र निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिने छ । राजनीतिक प्रतिवेदनमा भने राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति विश्लेषण गर्दै पार्टीको आगामी कार्यदिशा र समाजवाद स्थापनाको रोडम्याप प्रस्तुत गरिने पार्टीले जनाएको छ ।

महाधिवेशनलाई सफल बनाउन आठ वटा उपसमितिहरू गठन गरिएको छ । स्वागत, आवास, स्वास्थ्य, प्रचार, मञ्च सजावट, सांस्कृतिक कार्यक्रमदेखि लिएर यातायात र सुरक्षासम्मका तयारी पूरा भएको पार्टीले जनाएको छ ।

एमालेले यस ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन पत्रकारहरूको रचनात्मक सहयोग अपरिहार्य हुने भन्दै तथ्यगत सूचनाको सङ्कलन र सम्प्रेषणमा सहकार्य गर्न आग्रहसमेत गरेको छ ।

पत्रकार सम्मेलनमा एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, नेता लालबाबु पण्डित र  केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरू सहभागी छन्।

२०८२ भदौ १८ गते बुधवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु