भृकुटीमण्डपमा भोलि ९ पार्टीबीच एकता घोषणा, नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सहित ९ वटा वाम दलहरूबीचको एकता घोषणा कार्यक्रम बुधवार बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ।
माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरिसकेका पार्टीहरूबीचको संयुक्त घोषणासभा भृकुटीमण्डपमा आयोजना हुने जानकारी दिएका हुन्।
उनका अनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ। सापकोटाले नयाँ पार्टीले जनताको चाहना अनुसार काम गर्ने र सोही अनुरूप नीति तथा कार्यक्रम अघि सार्ने प्रतिबद्धता व्यक्त गरे।
मंगलबार बसेको माओवादी केन्द्रको अन्तिम बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले भने, “अहिलेसम्मका उतार–चढाव, घुम्ती र मोड पार गर्दै अब देश समृद्धिको दिशामा अघि बढ्ने विश्वास गरेका छौँ।”
उनले तत्कालका लागि माओवाद सिद्धान्तलाई छलफलका लागि स्थगित गरिएको उल्लेख गर्दै भने, “बृहत् र सजीव छलफलपछि माओवाद पुन:स्थापित हुन सक्छ। अहिलेको आवश्यकता भनेको वाम शक्तिहरूबीच एकता गर्नु हो।”
२०८२ कात्तिक १८ गते मंगलवार १७:१७ बजे प्रकाशित






















