नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता, अरु कसलाई कुन वरियता ?
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको बुधबार घोषणा अनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई तेस्रो वरियता दिइएको छ।
बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच खनाललाई तेस्रो वरियता दिने सहमति भएको हो।
स्रोतका अनुसार, यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो। खनालले विभिन्न घटकबीच हुने एकताप्रति असन्तुष्टि जनाएका थिए, तर अन्तत: भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी भएर सहमति जनाएका छन्।
एकता वार्तामा सहभागी एक नेताका अनुसार, बुधबार बिहानको छलफलपछि खनाल तेस्रो वरियतामा रहेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन सहमत भएका हुन्।
पार्टीमा वरियता:
प्रचण्ड – पहिलो
माधव कुमार नेपाल – दोस्रो
झलनाथ खनाल – तेस्रो
बामदेव गौतम – चौथो
नारायणकाजी श्रेष्ठ – पाँचौं
खनालले हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। प्रारम्भमा उनी पार्टी पुनर्गठन प्रक्रियामा लाग्ने सोच राखेका थिए, तर अन्तिम समयमा प्रचण्ड–माधव समूहसहितको एकतामा सहभागी हुन पुगेका छन्।
२०८२ कात्तिक १९ गते बुधवार १७:१० बजे प्रकाशित























