विदेशमा रहेका नेपालीले भोट दिन सक्ने कानुन मस्यौदा गरिसकेको छौं: गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने कानुनको मस्यौदा तयार भइसकेको बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा उनले भने, “कानुनको मस्यौदा बनाएर निर्वाचन आयोगमा पठायौँ। आयोगको सुझाव समेटेर कानुन मन्त्रालयमा पठाइयो। त्यसपछि कानुन मन्त्रालयले आफ्ना सुझाव समेटेर गृह मन्त्रालयमा पठाउँछ।”
अर्यालले थपे, “अब विभिन्न स्टेकहोल्डरसँग छलफल गर्न आवश्यक छ। समय मिल्यो भने यस्ता छलफल पनि गरिनेछ। विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने माग सम्बोधन गर्न हामीले सक्दो प्रयास गरिरहेका छौँ।”
उनले दुईवटा प्रमुख माग औँल्याए– “आउट अफ कन्ट्री” र “आउट अफ कन्स्टिच्युन्सी”। हामीले यसलाई सम्भव तुल्याउने प्रयास गरिरहेका छौँ।”
प्राविधिक पक्षमा विज्ञले दिएको सुझाव अनुसार उचित समयमा निष्कर्ष आउने उनले बताए। संसद सदस्यहरूले आन्दोलनमा घुसपैठ वा अन्य स्वार्थको प्रश्न उठाएपछि आयोगले यसबारे जवाफ दिनुपर्ने उनले पनि स्पष्ट पारे।
२०८२ कात्तिक २७ गते बिहीवार १७:१२ बजे प्रकाशित






















