कोहीपनि द्विविधामा बस्नु पर्दैन, फागुन २१ गते निर्वाचन हुन्छ: प्रचण्ड
पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गते निर्वाचन हुने दाबी गरेका छन्। उनले सबैलाई चुनावलाई लिएर द्विविधामा नरहन आग्रह गर्दै चुनावी माहोल बनाउन सरकारसँग सहकार्य आवश्यक रहेको बताए।
आइतबार पोखरामा आयोजित प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचनका लागि सरकार र छिमेकी देशहरू ९चीन र भारत० सकारात्मक रहेको जानकारी दिए। “कोहीपनि द्विविधामा बस्न जरुरी छैन। चुनाव फागुन २१ गते हुन्छ र हुनुपर्छ। हाम्रो एकता सभा सकिँदासम्म चुनावी माहोल बन्नेछ,” उनले भने।
उनले सरकारसँग चुनावको वातावरण तयार गर्न आग्रह गर्दै भने कि, “सरकार धेरै जनाधार भएको पार्टीलाई छोडेर जनाधार नभएको पार्टीसँग मात्र संवाद गरिरहेको छ। यसबारे चेतावनी दिन चाहन्छौं।”
प्रचण्डले वर्तमान सरकार आफैं र माधवकुमार नेपालले बनाएको भन्दै त्यसबारे हेक्का राख्न पनि चेतावनी दिए। “भदौ २६ गते राती राष्ट्रपतिसँग बसेर प्रधानमन्त्री बनाउने सहमति मैले र माधवजीले गरेका थियौं। यसलाई सरकारले बुझ्नुपर्छ। देशभर चुनावी माहोल बनाउन हामी सभामा जुटेका छौं,” उनले थपे।
२०८२ मंसिर १४ गते आइतवार १७:१९ बजे प्रकाशित























