पार्टीलाई सामूहिक नेतृत्वमा विधिपूर्वक चलाउन अध्यक्षमा दाबी गरेको हुँ: ईश्वर पोखरेल
काठमाडौं । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन्।
महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै भने, “म पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत विधिपूर्वक र व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यसहित अध्यक्ष पदमा आउन चाहेको हुँ।”
पार्टीलाई पुनर्गठित र पुन:व्यवस्थित गर्नु आवश्यक रहेको उल्लेख गर्दै पोखरेलले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई पार्टीको विचार, संगठन, नेतृत्व र कार्यसम्पादन सबै क्षेत्रमा सुधार गर्नुपर्ने बताए। “विचारमा पुनर्गठन, संगठनमा पुनर्गठन, नेतृत्वमा पुनर्व्यवस्थापन र कार्यसम्पादनमा सुधार अपरिहार्य छ। यसको अर्थ पार्टीलाई समयअनुकूल र थप अपडेटेड बनाउनु हो,” उनले भने।
एमाले महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पोखरेलले पार्टीभित्र चुनावी प्रतिस्पर्धा स्वाभाविक भएको पनि बताए। “प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया हो। हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो। आज खुला अवस्थामा, जनताको बहुदलीय जनवादले निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धा अस्वाभाविक मानिँदैन,” उनले स्पष्ट पारे।
२०८२ मंसिर २९ गते सोमवार १७:३५ बजे प्रकाशित






















