मध्यपूर्व सङ्कटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
दुबई। मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उहाँको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमश: घटाउने विकल्पमा विचार गरिरहेको बताएको छन् । तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट आएपछि यस्तो मिश्रित सन्देश आएको हो ।
यसैबिच, इजरायलले इरानले शनिबार बिहान पुन: मिसाइल आक्रमण जारी राखेको छ भने साउदी अरेबियाले केही घण्टाभित्रै २० ड्रोन निश्क्रिय पारिएको जनाएको छ । त्यस क्षेत्रमा मुख्य तेल प्रतिष्ठानहरू रहेका छन्। कुनै मानव क्षति वा संरचनागत हानि भने भएको छैन।
इरानले आक्रमणलाई बढाउँदै आफ्नो खाडी छिमेकीमा असर पुर्याइरहेको छ, जबकि हर्मुज जलमार्गमा व्यापार नियन्त्रण जारी राखेको छ । यो मार्ग विश्वको तेल र अन्य महत्त्वपूर्ण वस्तुहरूको लगभग पाँचौँ हिस्सा बोक्ने मार्ग हो ।
इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले नवरोज पर्वको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी र इजरायली आक्रमणहरू असफल भएको बताए । उनले इरानी जनताको दृढतामा प्रशंसा गरे।
इरानी सेनाका उच्च अधिकारीहरूले ‘विश्वका पार्क, मनोरञ्जन क्षेत्र र पर्यटन स्थलहरू’ देशका शत्रुका लागि सुरक्षित नहुने चेतावनी दिएका छन् । यसले इरानले मध्यपूर्व बाहिर पनि आक्रमण गर्ने सम्भावना कायम राखेको देखाउँछ ।
अमेरिकाले इरानी तेलमा केही प्रतिबन्ध हटाउने घोषणा पनि गरेको छ, जसले मूल्य नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । तर उत्पादनमा वृद्धि नभएपछि तेलको आपूर्ति र मूल्यमा ठुलो असर नपर्ने देखिन्छ ।
युद्धमा हालसम्म इरानमा एक हजार तीन सयभन्दा बढी, इजरायलमा १५ र पश्चिम बैँकमा चार नागरिकको मृत्यु भएको छ । अमेरिकी सेनाका कम्तीमा १३ सदस्यको पनि मृत्यु भएको छ ।
२०८२ चैत ७ गते शनिवार १७:१० बजे प्रकाशित






















