२०४६ सालदेखि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न गगनको माग
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति निष्पक्ष रूपमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा आयोजित स्थानीय तहका प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा थापाले सम्पत्ति छानबिनका लागि कांग्रेस तयार रहेको बताउँदै थन्किएका अनुसन्धानका फाइलसमेत अघि बढाउन आग्रह गरे ।
कांग्रेसमा आबद्ध कसैले गलत गरेको भए कारबाही हुनुपर्ने तर निर्दोषलाई दुःख दिने नियत स्वीकार्य नहुने उनको भनाइ छ । उनले सम्पत्ति छानबिन तथा अनुसन्धानका प्रक्रिया कानुनअनुसार अघि बढाउनुपर्नेमा जोड दिए ।
थापाले यही मापदण्ड रास्वपालगायत सबै दलका नेता तथा मन्त्रीमा लागू हुनुपर्ने बताउँदै गल्ती गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही गर्नुपर्ने धारणा राखे ।
२०८३ मंसिर १३ गते आइतवार १३:४९ बजे प्रकाशित























