थापाथली र गैह्रीगाउँस्थित दुई सुकुम्वासी बस्तीमा डोजर, २७ परिवारका ८९ जनालाई सुन्दरीघाट पुर्याइयो
काठमाडौँ । सरकारले शनिबार काठमाडौँका थापाथली र गैह्रीगाउँस्थित दुई सुकुम्वासी बस्तीमा डोजर चलाएर खाली गराएको छ।
काठमाडौँ महानगरपालिकाले प्रहरीको सहयोगमा बस्ती भत्काएपछि त्यहाँका २७ परिवारका ८९ जनालाई अस्थायी शिविरमा स्थानान्तरण गरिएको जनाएको छ।
शनिबार बिहान थापाथली क्षेत्रमा डोजर तथा स्काभेटर प्रयोग गरेर बस्ती हटाइएको थियो। त्यसपछि नेपाल प्रहरी र महानगरको टोली गैह्रीगाउँ पुगेको थियो, जहाँ बस्ती खाली गराउने काम अझै जारी रहेको छ।
डोजर चलाएर घरटहरा भत्काइएपछि दुवै स्थानका सुकुम्वासीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ। महानगरका अनुसार हालसम्म थापाथली र गैह्रीगाउँबाट विस्थापित २७ परिवारका ८९ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा पुर्याइएको छ।
यसैबीच, अव्यवस्थित बस्तीबाट विस्थापित भूमिहीन तथा घरवारविहीनहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मा ल्याएर स्क्रिनिङ गर्ने कार्य भइरहेको छ।
सरकारले सुकुम्वासीहरूका लागि काठमाडौँका विभिन्न पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाएको जनाएको छ।
२०८३ वैशाख १२ गते शनिवार १७:३२ बजे प्रकाशित






















