बाढीपछि अवरुद्ध बीपी राजमार्ग ३ दिनपछि सञ्चालन
काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुन: सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेका डाइभर्सन मर्मतपछि आज सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी आवागमन पुन: सुरु गरिएको हो।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार कार्यालय र ठेकेदार कम्पनीको संयुक्त प्रयासमा तीन दिन लगाएर डाइभर्सन मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको हो।
बाढीले काभ्रेपलाञ्चोकका चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा र माम्ती क्षेत्रमा डाइभर्सन बगाएको थियो। त्यसैगरी सिन्धुलीका आँपघारी र नेपालथोकमा पनि क्षति पुगेको थियो।
हाल अस्थायी समाधानका रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरी सवारी सञ्चालन भइरहेको छ।
२०८३ वैशाख १४ गते सोमवार १७:२८ बजे प्रकाशित























