एमालेले मीनबहादुर गुरुङको भवन प्रस्ताव फिर्ता गर्ने, बल्खुमै नयाँ कार्यालय बनाइने
काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानस्वरूप उपलब्ध गराउने भनेको पार्टी कार्यालय भवन नलिने निर्णय गरेको छ । गुरुङ दम्पतीले जग्गासहित भवन निर्माण गरिदिने प्रस्ताव गरे पनि एमालेले धन्यवादसहित उक्त प्रस्ताव फिर्ता गर्ने भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमा अब नयाँ केन्द्रीय कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने उल्लेख गरिएको छ ।
प्रस्तावमा भनिएको छ, “कलङ्कीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरुङ दम्पतीलाई धन्यवादसहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने ।”
यसअघि व्यवसायीबाट दानमा पार्टी कार्यालय लिन लागिएको विषयलाई लिएर एमालेभित्रै विवाद उत्पन्न भएको थियो । कतिपय नेताहरूले सार्वजनिक रूपमा विरोध जनाएका थिए । सोही विषयमा असहमति जनाएकै कारण नेतृहरू बिन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि पार्टीले कारबाहीसमेत गरेको थियो ।
२०८३ जेठ ७ गते बिहीवार १९:३१ बजे प्रकाशित























