प्रतिनिधिसभा बैठक: तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकबाट तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ।
मुख प्रतिपक्षी दलको विरोधबीच ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको हो।
प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीनवटै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। तीनवटै प्रस्तावमा सभामुख डोलप्रसाद अर्यालले छलफलमा भाग लिन नाम माग गरे पनि कसैको पनि नाम प्राप्त नभएको भन्दै स्वीकृतिका लागि प्रस्तुत गर्नुभएको थियो।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै स्थानबाट उभिएर विरोध जनाएको थियो। प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले रोष्ट्रम अघि गएर नारा जुलुस गरेका थिए।
तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएसँगै प्रतिनिधि सभाको बैठक जेठ १२ गते सम्मका लागि स्थगित भएको छ।
२०८३ जेठ ७ गते बिहीवार १९:३७ बजे प्रकाशित























