मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान हितलाई प्राथमिकता दिने सन्देश दिइएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी ले प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका विभिन्न दुग्धजन्य उत्पादन समावेश गरिएको प्याकेट वितरण गरेकी हुन्।
वितरण गरिएको प्याकेटमा डीडीसीद्वारा उत्पादित दूध, केशर दूध, बटर, चिज, दही तथा पेँडा समावेश थिए। स्वदेशी उत्पादनको उपभोग बढाउने तथा सरकारी संस्थानको बजार विस्तार गर्ने उद्देश्यसहित बैठकमै सांकेतिक रूपमा यी सामग्री वितरण गरिएको जनाइएको छ।
बैठकमा डीडीसीका उत्पादनको देशव्यापी प्रवर्द्धन, बजार विस्तार तथा संस्थानको व्यावसायिक सुदृढीकरणका विषयमा समेत छलफल भएको थियो। मन्त्री चौधरीले नेपाली किसानबाट संकलित दूधको उचित व्यवस्थापन र बजार सुनिश्चित गर्न सरकारी तहबाट सक्रिय पहल आवश्यक रहेकोमा जोड दिइन्।
उनले डीडीसीलाई थप प्रतिस्पर्धी र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै स्वदेशी दुग्ध उत्पादनको संरक्षण तथा किसानको हितका लागि सबैले यसको उपभोग र प्रवर्द्धनमा उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखिन्।
बैठकमा सरकार स्वदेशी उत्पादनको प्रवर्द्धन र बजार विस्तारका लागि प्रतिबद्ध रहेको सन्देश पनि दिइएको छ। केही समयअघि प्रधानमन्त्री शाहले समेत डीडीसीका उत्पादनको प्रचारप्रसार गर्दै स्वदेशी वस्तुको प्रयोग बढाउन नागरिकलाई आग्रह गरेका थिए।
२०८३ जेठ २६ गते मंगलवार १७:४० बजे प्रकाशित























