आफूलाई ‘प्रगतिशील’ नारा दिने सांसदहरूको अभिव्यक्तिमा नै विरोधाभास देखियो : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा आर्थिक विधेयकसम्बन्धी छलफलका क्रममा सांसदहरूले प्रस्तुत गर्ने धारणा विरोधाभासपूर्ण भएको टिप्पणी गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफूलाई “प्रगतिशील” नारा दिने सांसदहरूको अभिव्यक्तिमा नै विरोधाभास देखिने गरेको बताए। उनका अनुसार केही सांसदहरूले प्रगतिशील नीति भनेर समर्थन गर्ने तर व्यवहारमा त्यही नीतिहरूको विरोध गर्ने प्रवृत्ति देखिएको छ, जुन आफैंमा असंगत भएको उनको भनाइ थियो।
उनले प्रगतिशील कर प्रणालीको व्याख्या गर्दै, उच्च आम्दानी गर्ने र आर्थिक रूपमा सक्षम व्यक्तिले कम आम्दानी भएकालाई सहयोग पुग्ने गरी कर तिर्ने प्रणालीलाई नै प्रगतिशील कर भनिने स्पष्ट पारे। साथै, मध्यम वर्गलाई अनावश्यक आर्थिक भार नपरोस् भन्ने उद्देश्यसहित केही कर नीतिहरू समायोजन गरिएको पनि उनले बताए।
ऊर्जा क्षेत्रबारे बोल्दै अर्थमन्त्री वाग्लेले विगतमा ठूलो लगानी र लामो समयसम्म दिइएको कर छुटका कारण नेपालको विद्युत् क्षेत्र अहिलेको अवस्थामा पुगेको उल्लेख गरे। हाल निजी क्षेत्रले विद्युत् उत्पादनको करिब ८० प्रतिशत हिस्सा ओगटेको बताउँदै उनले अब निजी क्षेत्रलाई विद्युत् बिक्री सहज बनाउने र प्रसारण लाइन विस्तारमा सहजीकरण गर्ने नीति सरकारको रहेको जानकारी दिए।
उनका अनुसार ऊर्जा क्षेत्रलाई थप सुदृढ र प्रतिस्पर्धी बनाउन कर सहुलियत र पूर्वाधार विस्तारमार्फत नयाँ उचाइमा पुर्याउने लक्ष्य सरकारको छ।
२०८३ असार ५ गते शुक्रवार १७:३३ बजे प्रकाशित























