"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुखको रुलिङ

काठमाडौँ । प्रतिनिधि सभामा सांसदहरूले उठाउँदै आएका प्रश्नको जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीमा रहेको व्यवस्थाअनुसार सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।

सदनमा सांसदहरूले विभिन्न समसामयिक विषय तथा सरकारको कार्यशैलीसँग सम्बन्धित प्रश्न उठाउँदै आए पनि त्यसको उचित सम्बोधन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए। सांसदहरूको ध्यानाकर्षणपछि सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन दिएका हुन्।

सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्थाअनुसार सांसदहरूले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरे।

‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु,’ सभामुख अर्यालले बैठकमा भने।

प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ। यस्तै नियम ५७ देखि ५९ सम्म सांसदले प्रश्न राख्ने सूचना, प्रश्नको मर्यादा तथा त्यसको जवाफ दिने प्रक्रियासम्बन्धी व्यवस्था गरिएको छ।

पछिल्लो समय सदनमा सांसदहरूले सरकारसँग विभिन्न विषयमा प्रश्न उठाउँदै आए पनि सरकारका तर्फबाट जवाफ नआएको भन्दै नियमापत्ति जनाउँदै आएका थिए। सभामुखको रुलिङसँगै अब सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने भएको छ।

२०८३ भदौ १ गते सोमवार १३:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु