कञ्चनपुरमा मन्त्री रावलको स्थलगत अनुगमन, भूमिहीनलाई जमिनको मालिक बनाउनेदेखि मजगाउँ विमानस्थल सञ्चालनसम्म
कञ्चनपुर। सुदूरपश्चिमको पहिलो भ्रमणमा आउनुभएकी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कञ्चनपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या, सहकारी क्षेत्रका चुनौती र विकास आयोजनाको अवस्थाबारे स्थलगत निरीक्षण गर्नुभएको छ।
आइतबार बिहान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा जिल्लाका कार्यालय प्रमुखहरूसँग छलफल गर्दै मन्त्री रावलले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई यथाशीघ्र जग्गाधनी बनाउने गरी काम अघि बढाउन निर्देशन दिनुभयो।
भूमि प्रशासन र नापी कार्यालयका प्रमुखसँगको छलफलमा नापी कार्यालय प्रमुख जनक पन्तले कानुनी तथा प्रक्रियागत अडचनका कारण कतिपय भूमिहीनलाई जग्गा उपलब्ध गराउन समस्या भइरहेको जानकारी गराउनुभयो।
जवाफमा मन्त्री रावलले आवश्यक परे कानुन संशोधन गरेर भए पनि व्यवस्थित बसोबासीलाई शीघ्र जग्गाको मालिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूमिहीनको समस्या लामो समयसम्म अल्झाएर राख्न नहुने उहाँको भनाइ थियो।
सहकारीको समस्या छुट्टाछुट्टै सम्बोधन गर्न माग
जिल्ला प्रशासन कार्यालयमा सहकारी क्षेत्रका प्रतिनिधिले मन्त्री रावललाई ज्ञापनपत्र बुझाउँदै सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
सहकारी प्रतिनिधिले ऋण असुलीमा देखिएको समस्या समाधान गर्नुपर्ने, असल र समस्याग्रस्त सहकारीलाई एउटै दृष्टिकोणले हेर्न नहुने तथा सहकारी संस्थाको वर्गीकरण गरी फरक–फरक नीति अवलम्बन गर्नुपर्ने माग राखेका छन्।
उनीहरूले असल सहकारीलाई प्रोत्साहन र समस्याग्रस्त सहकारीलाई सुधारात्मक कारबाही गर्ने व्यवस्था गर्नुपर्ने भन्दै आठबुँदे मागसमेत प्रस्तुत गरेका छन्।
ज्ञापनपत्र बुझ्दै मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्या अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
दोधारा चाँदनीदेखि श्रीलङ्का टोलसम्म स्थानीयका समस्या सुन्दै
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि मन्त्री रावलले दोधारा चाँदनी नगरपालिकामा पुगेर भूमिहीन, अव्यवस्थित बसोबासी तथा स्थानीयवासीसँग भेटघाट गर्नुभयो। भेटका क्रममा स्थानीयले भोगिरहेका समस्या र आवश्यकताबारे जानकारी लिँदै उहाँले समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने बताउनुभयो।
मन्त्री रावलले भीमदत्त नगरपालिका–९ स्थित श्रीलङ्का टोलमा पुगेर भूमिहीन तथा दलित समुदायका स्थानीयसँग पनि भेटघाट गर्नुभयो। स्थानीयका समस्या सुन्दै उहाँले क्षेत्रगत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा समाधान खोजिने प्रतिबद्धता जनाउनुभयो।
मजगाउँ विमानस्थल सञ्चालनमा सरकार प्रतिबद्ध
मन्त्री रावलले आइतबार दिउँसो मजगाउँ विमानस्थलको समेत स्थलगत निरीक्षण गर्नुभयो।
निरीक्षणका क्रममा उहाँले विमानस्थल सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। लामो समयदेखि चर्चामा रहेको विमानस्थल सञ्चालनमा आए कञ्चनपुरको यातायात, पर्यटन तथा आर्थिक गतिविधिमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसपछि मन्त्री रावलले सुक्खा बन्दरगाह क्षेत्रको समेत निरीक्षण गर्नुभयो।
स्थानीय तहमा विकासको अवस्था बुझ्दै मन्त्री
मन्त्री रावलले बेदकोट नगरपालिकाका वडा नम्बर ८ र ९ तथा शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा पुगेर स्थानीय समस्या तथा विकास निर्माणको अवस्थाबारे जानकारी लिनुभयो।
स्थलगत निरीक्षणका क्रममा उहाँले स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयसँग विकासका प्राथमिकता र विद्यमान समस्याबारे जानकारी लिनुभएको थियो।
मन्त्री रावलको कञ्चनपुर भ्रमण सोमबार पनि जारी रहनेछ। सोमबार जिल्लाको दक्षिणी क्षेत्रमा विभिन्न विकास आयोजना तथा स्थानीय समस्याको स्थलगत निरीक्षण गर्ने कार्यतालिका रहेको छ।
मन्त्रीको स्थलगत भ्रमणले लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका भूमिहीनता, सहकारी समस्या र पूर्वाधार विकासका मुद्दा सरकारको प्राथमिकतामा छन् कि छैनन् भन्ने परीक्षणको आधारसमेत तय गरेको छ। स्थानीयको अपेक्षा भने निरीक्षण र प्रतिबद्धताभन्दा अघि बढेर समस्या समाधानमा परिणत हुनेमा केन्द्रित छ।
२०८३ भदौ ८ गते सोमवार १०:१९ बजे प्रकाशित























