"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गरिने

काठमाडौं, असोज २३ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना कार्यान्वयन भइरहेको बताउनुभएको छ ।

१५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले देशभर फैलिएको हुलाक सञ्जालमार्फत सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो । बदलिँदो प्रविधि र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनर्संरचना गरी सहज, छरितो र भरपर्दो बनाइने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याएका बिसे नगर्ची र वाङ्गे सार्की, प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर तथा टेलिभिजनका आविष्कारक जोन लोगी बेयर्डको तस्बिर अंकित नयाँ हुलाक टिकटसमेत जारी गरिएको छ ।

हुलाक सेवा विभागका अनुसार प्रतिटिकट १० रुपैयाँ दरका टिकट प्रचलनमा ल्याइएको हो । कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले ऐतिहासिक योगदान पुर्‍याएका व्यक्तित्वको सम्मानले दलित समुदायको योगदानलाई राज्यले पहिचान गरेको बताउनुभयो ।

सञ्चारसचिव राजेन्द्रकुमार पौडेल र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले पनि हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउँदै देशभरका नागरिकलाई सहज सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

२०८३ असोज २३ गते शुक्रवार १४:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु