दसैँमा जुनसुकै कम्पनीका ग्यास सिलिन्डर निःशुल्क साट्न पाइने
काठमाडौं, असोज २३ गते । दसैँमा ग्यासको आपूर्ति सहज बनाउन उपभोक्ताले घटस्थापनादेखि फूलपातीसम्म काठमाडौं उपत्यकाका छ स्थानबाट जुनसुकै कम्पनीका खाली सिलिन्डर अर्को ब्रान्डको भरिएको सिलिन्डरसँग निःशुल्क साट्न पाउने भएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बालाजु, पेप्सिकोला, सुकेधारा, सिफल, कलंकी र ललितपुरको हरिसिद्धिस्थित तोकिएका केन्द्रबाट बिहान ९ः३० देखि अपराह्न ४ बजेसम्म सिलिन्डर साट्न सकिनेछ । उपभोक्ताले भरिएको सिलिन्डर भने तोकिएको मूल्यमा खरिद गर्नुपर्नेछ ।
संघका अध्यक्ष दिवान चन्दका अनुसार बजारमा ५८ वटा कम्पनीका ग्यास ब्रान्ड प्रचलनमा छन् । फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले यसअघि तीन सय रुपैयाँसम्म अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था थियो ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले चाडपर्वमा उपभोक्तालाई सहज बनाउन उद्योगीसँगको छलफलपछि यस्तो व्यवस्था गर्न लागिएको बताउनुभएको छ । सिलिन्डरको दुरुपयोग रोक्न सेवा लिने उपभोक्ताको पहिचान र मोबाइल नम्बर अभिलेखमा राखिने संघले जनाएको छ ।
२०८३ असोज २३ गते शुक्रवार १६:५६ बजे प्रकाशित






















