अब घरमै आइपुग्नेछ टेलिकमको सिम, सुरु भयो ‘हुलाक–सिम सेवा’
काठमाडौँ, असोज २८ गते । नेपाल टेलिकमको नयाँ सिमकार्ड अब हुलाकमार्फत घरमै प्राप्त गर्न सकिने भएको छ। सरकारले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ‘हुलाक–सिम सेवा’ सुरु गरेको हो।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट सेवाको शुभारम्भ गर्नुभयो। यस सेवाअन्तर्गत अनलाइन आवेदन दिएर नयाँ प्रिपेड सिमकार्ड घरमै मगाउन सकिनेछ।
सिमका लागि ९० रुपैयाँ र हुलाक डेलिभरीका लागि ७० रुपैयाँ शुल्क लाग्नेछ। बैंकिङ एप, डिजिटल वालेट वा नमस्ते पेमार्फत भुक्तानी गर्न सकिने व्यवस्था छ। सिमकार्ड कहाँ पुग्यो भन्ने जानकारीसमेत अनलाइनबाट ट्र्याक गर्न सकिनेछ।
सरकारले सहरी क्षेत्रमा आवेदन स्वीकृत र भुक्तानी भएको करिब दुई घण्टाभित्र तथा ग्रामीण क्षेत्रमा तीन दिनभित्र सिम उपलब्ध गराउने लक्ष्य राखेको छ।
मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गरिने बताउनुभयो। आगामी दिनमा पोस्टपेड सिमकार्ड तथा टेलिकमका अन्य प्रशासनिक सेवासमेत अनलाइनमार्फत उपलब्ध गराउन पहल गरिने उहाँले उल्लेख गर्नुभयो।
२०८३ असोज २८ गते बुधवार १८:०४ बजे प्रकाशित






















