छठ पर्वले बढायो केराको माग, मूल्य महँगिएको उपभोक्ताको गुनासो
काठमाण्डौ । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेशका बजारमा केराको माग बढेको छ । यस वर्ष भारतबाट आयात नभए पनि स्वदेशी उत्पादनले बजारको माग धानिरहेको व्यवसायीले बताएका छन् ।
जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवका अनुसार कैलाली, नवलपरासी, चितवन, हेटौँडा, निजगढ र पूर्वी क्षेत्रबाट केरा आपूर्ति भइरहेको छ । बजारमा मिर्चमान जातको केरा प्रतिघरी एक हजारदेखि १२ सय र गोपाल जातको पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
तर, उपभोक्ताले विगतको तुलनामा मूल्य महँगिएको गुनासो गर्दै नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । छठमा सूर्यलाई अर्घ्य दिँदा केरा मुख्य प्रसादका रूपमा चढाउने परम्परा रहेकाले यसको माग बढेको हो ।
२०८३ कात्तिक २८ गते शनिवार १३:३४ बजे प्रकाशित























