सङ्घीयता बलियो बनाउन राष्ट्रिय बहस आवश्यक – रवि लामिछाने
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो र प्रभावकारी बनाउन राष्ट्रिय बहस तथा सहमति आवश्यक रहेको बताउनुभएको छ ।
जनकपुरधाममा सांसद अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्रा शुभारम्भ गर्दै उहाँले तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । सङ्घीय संरचनालाई व्यवस्थित र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने उहाँको भनाइ छ ।
यसैबीच, सांसद सिंहले सामाजिक सद्भाव, राष्ट्रिय एकता र नागरिकका समस्या बुझ्ने उद्देश्यले पदयात्रा सुरु गरिएको बताउनुभयो । दैनिक २० देखि २५ किलोमिटर यात्रा गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकाली किनारमा पुगेर पदयात्रा सम्पन्न हुनेछ । सिंहले आउँदो वैशाखमा मध्यपहाडी लोकमार्गबाट अर्को पदयात्रा गर्ने योजना पनि सुनाउनुभएको छ ।
२०८३ कात्तिक ३० गते सोमवार १४:२४ बजे प्रकाशित























