"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

न्यूनतम तलब र सामाजिक सुरक्षा व्यवहारमै लागू गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारदाता र श्रमिकको सहमतिमै ल्याइएको न्यूनतम तलब र सामाजिक सुरक्षालाई व्यवहारमै लागु गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा,नेपाली काँग्रेस निकट लगायत ९ ट्रेड युनियनहरूले भृकुटीमण्डपमा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मजदुरका मागहरूलाई लागू गराउन संयोजनको भूमिका खेल्ने बताए ।

सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा दिन रोजगारदाताहरु तयार देखिएका छैनन्। ‘उद्यमीले आफ्नो लगानी सुरक्षित हुने गरी अनुकूल काम गर्नुपर्छ। मजदुरले प्रसन्न मुद्रामा काम गर्न पाउनुपर्छ। यसमा सरकारले संयोजन गर्नेछ,’ उनले भने,‘मजदुरमाथि अन्याय गरेर समस्याको समाधान खोज्नुहुँदैन। न्याय दिएर समाधान गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले इतिहासमै यो सरकारले मजदुरको हितको लागि काम गरेको दाबी गरे। ‘कसैले नगरेको, नदेखेको र विगतका सरकारले कल्पना पनि नगरेको काम अहिलेको सरकारले गरेको छ,’उनको दाबी छ,‘बाँच्न पुग्ने न्यूनतम तलब तोकिएको छ। ती तलब पाउने ग्यारेन्टी गर्न बैंकबाट दिइने व्यवस्था गरेको छ। ठगठाग गर्नेको ढोका बन्द भएको छ। सामाजिक सुरक्षा दिने व्यवस्था लागू भइसकेको छ।’

सरकारले रोजगारको ग्यारेन्टी गरेको प्रधानमन्त्रीको भनाइ छ। ‘वर्षमा सय दिनको रोजगार ग्यारेन्टी गरेको छ। रोजगार नभए भत्ता दिइनेछ,’उनले भने,‘नेपाल जस्तो गरिबी देशमा भत्ता दिने व्यवस्था गर्नु चानचुने होइन। सरकारले आँट गरेको छ।’

प्रधानमन्त्री ओलीले नेपाल औद्योगिक शान्तिको लागि विश्वमै नमुनाको देशको रूपमा अगाडि बढिरहेको दाबी गरे। ‘यहाँ सरकार, रोजगारदाता र मजदुरबीच सुमधुर सम्बन्ध छ। यसले औद्योगिक शान्ति स्थापना गरेको छ। यस्तो सम्बन्ध विश्वमा कतै कतै होला,’उनले भने,‘यस्तो वातावरणले स्वदेश र अन्तर्राष्ट्रिय लगानी आउने वातावरण वनेको छ। बेग्लै लहरको सिर्जना हुँदैछ। तपाइहरू उत्साहपूर्वक अगाडि बढ्नुछ।’

२०७६ वैशाख १८ गते बुधवार १७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु