"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

हुम्लामा खाद्यान्न अभावः चार महिनापछि बल्ल ढुवानी, चार केजी चामलका लागि नागरिकता पेस गर्नुपर्ने

हुम्ला । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ ।

टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि कम्पनीले बल्ल चामल ढुवानी सुरु गरेको हो । समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन् । प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट वञ्चित बनेका हुन् । भौगोलिक रूपमा विकट हुम्लामा कम्पनीले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । कमिसनको खेलले चार महिना बित्दा समेत चामल ढुवानी हुन नसकेको बताइएको छ ।

सीता एयरलाई मात्र ढुवानीको जिम्मा दिँदा कम चामल ढुवानी भएको भन्दै मुख्यमन्त्री शाहीले सबै जहाज प्रयोग गर्न ठेकेदार कम्पनी र कम्पनी लिमिटेडलाई निर्देशन दिएका थिए । तर कम्पनीको हुम्ला शाखाको गोदाममा चामल मौज्दात कम भएपछि शुक्रबारबाट चामल वितरण रोकिएको छ । अहिले कम्पनीको सिमकोट गोदाममा करिब १२ सय क्विन्टल चामल मौज्दात रहेको कम्पनीका हुम्ला कार्यालय प्रमुख विष्णुप्रसाद अधिकारीले बताउनुभयो । “स्थानीयवासीले कोटाअनुसारकै चामल माग्न थाले”, उहाँले भन्नुभयो, “कोटाअनुसार चामल दिँदा गोदाम रित्तिने देखियो ।”

चार महिनापछि बल्ल चामल वितरण गरेको भएपनि स्थथानीयवासीले एक महिनाको मात्रै चामल पाउने भएका छन् । कम्पनीको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि यहाँका सर्वसाधारणलाई बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नु परेको थियो ।

चार केजी चामलका लागि नागरिकता पेस
चामल लिन लिमिटेडको शाखामा पुग्दा यहाँका नागरिकले आफ्नो परिचयपत्र खुल्ने नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने बाध्यता जस्तै बनेको छ । नागरिकता पेस नगर्दा चामल नपाइने भएको स्थानीयवासीको भनाइ छ । “सधैँ चामल लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यो पटक नागरिकता अनिवार्य गरेको छ, यसले गर्दा सोझा सर्वसाधरणलाई थप झन्झटिलो बनेको छ ।”

२०७८ माघ ७ गते शुक्रवार १९:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु