युवा मतदाता भन्दछन् : निः शुल्क शिक्षा र रोजगारी चाहियो
राजनीतिक दल निकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकाङ्क्षी योजना अघि सारिरहँदा पहिलोपटक मतदान गर्न लागेका युवाहरुले भने उम्मेदवारसँग उनीहरुको घोषणामा शिक्षा निःशुल्क वा कम शुल्क हुनुपर्ने र रोजगारी अवसरमा उपलब्ध गराउन ध्यान दिनुपर्ने अपेक्षा गरेका छन् ।
गाउँपालिका वा नगरका पदाधिकारीका उम्मेदवारहरुले पूर्वाधार विकास, सामाजिक विकास, पार्किङ, फोहरमैला व्यवस्थापनसम्बन्धी मुद्दा बढी उठाएको पाइन्छ । दलहरुका केन्द्रदेखि स्थानीयस्तरका घोषणापत्रमा पूर्वाधारलाई बढी जोड दिएका छन् । नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइरहँदा पहिलो पटक मतदान गर्न लागेका युवाहरु अपेक्षित उत्साह नभए पनि आफ्नो भोट हाल्न पाउने अधिकारको प्रयोगमा सचेत भएको पाइएको छ ।
काठमाडौँ उपत्यकाका पालिकामा मतदान गर्न लागेको युवा मतदाता र उपत्यकाबाहिर पनि निर्वाचनका लागि जान लागेकासँग कुरा गर्दा उनीहरुमा उम्मेदवारले धेरै कुरा राख्नुभन्दा थोरै राखेर त्यो पूरा गर्नुपर्ने बताए । पहिलो पटक मतदानमा सहभागी हुन लागेका कतिपय युवा जोसुकै जिते पनि फरक पर्दैन भन्ने भए पनि आफूले सोचेर र बुझेर मात्रै मतदान गर्छु भन्ने धेरै छन् । पाका उमेरका मानिसले विगतमा के के काम ग¥यो वा पार्टीमा के योगदान छ भन्ने हेर्ने गरे पनि युवाहरुले भविष्यको सम्भावनामा बढी जोड दिएको पाइएको छ ।
२०७९ वैशाख १४ गते बुधवार २०:२५ बजे प्रकाशित























