"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राष्ट्रिय हितलाई तल पार्न खोजियो : अध्यक्ष ओली

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई तल पार्न खोजिएको टिप्पणी गर्नुभएको छ ।

एमालेले आजदेखि सङ्गठन सुदृढीकरण तथा विस्तार गर्नका लागि सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको पार्टी मुख्यालयबाट भर्चुअलरूपमा उद्घाटन गर्दै उहाँले स्वतन्त्र नेपाल आफैँ उभिन खोज्दा नदिने र मनोवल गिराउन खोजिएको तर्क गर्नुभयो ।

देशभक्त शक्तिलाई समाप्त पार्न र परिवर्तनकारी शक्तिलाई पराजित गर्न खोजिएको भन्दै उहाँले अब राष्ट्रिय राजनीति नयाँ उचाइमा जानेसमेत बताउनुभयो । उहाँले न्यायको पक्षमा चल्न खोज्ने शक्तिलाई कमजोर बनाउन खोजिएको धारणा राख्नुभयो ।

एमाले अध्यक्ष ओलीले आंशिक हिसाबले नेपालको स्वाधिनतालाई दबाउने र खण्डित गर्ने प्रयास गरिएको उहाँको भनाइ थियो । उहाँले सत्ताका लागि घुँडा टेक्ने र देशका लागि योगदान दिन तयार रहने शक्तिबीच लडाइँ भइरहेको धारणा राख्नुभयो ।

सत्ता नै सबथोक हो भनेर लाग्ने शक्तिले मुलुकको भौगोलिक अखण्डतामा मिचे पनि केही नबोल्ने गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले नेपाललाई अतिक्रमित बनाउन खोजिएकोसमेत बताउनुभयो ।

एमालेले नै लोकतन्त्रलाई बलियो बनाउने बताउँदै उहाँले मिसन ग्रासरुट अभियानबाट एमालेलाई पहिलो शक्ति बनाउने दाबी गर्नुभयो । अध्यक्ष ओलीले आगामी निर्वाचनमा कसैको वैशाखीमा नटेकी एक्लै चुनावी मैदानमा जाने बताउनुभयो । “अबको हाम्रो मिसन ५१ प्रतिशत भोट हो”, उहाँले भन्नुभयो, “निर्वाचनमा हामी कसैको पनि वैशाखी नटेकी लड्छौँ ।”

अध्यक्ष ओलीले पार्टीको विचारमा अन्योल र समस्या नभएको भन्दै अभियानले पार्टीलाई थप मजबुद बनाउने बताउनुभयो । उहाँले अभियानले पार्टीलाई वैचारिकरूपमा सशक्त र साङ्गठनिकरूपमा सृदृढ, अनुशासित र एकताबद्ध बनाउने बताउनुभयो ।

२०७९ फागुन ५ गते शुक्रवार १९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु