यही गतिमा जनमत बढ्दै जाने हो भने कांग्रेस एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ: विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूलाई पार्टीमा स्वागत गर्दै उनले देशभर कांग्रेसका पक्षमा जनमत बढ्दै गएको उल्लेख गरे ।
उनले अहिलेको अवस्थामै कांग्रेस सबैभन्दा ठूलो दल बन्ने संकेत देखिएको दाबी गर्दै भने, “यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ ।”
उपसभापति शर्माले जेनजी आन्दोलनपछि कांग्रेस नै नयाँ रूपमा रूपान्तरण भएको एकमात्र शक्ति भएको टिप्पणी गरे । “परिवर्तन खोजिएको हो भने परिवर्तन भइसकेको कांग्रेस हो,” उनले भने । पार्टी बदलिएपछि समाहित हुनेहरूको संख्या बढिरहेको उनको भनाइ थियो ।
“कसैले आफूलाई बदल्न सक्दैन तर देश बदल्छु भन्छ भने त्यसलाई पनि सुनौँला,” उनले भने, “तर जो आफूलाई बदल्न सक्छ, उसैले देश बदल्छ भन्ने मान्यताअनुसार कांग्रेस अहिले जनताको विश्वास जित्ने गरी अघि बढेको छ ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ता एकढिक्का भएर लागिरहेको उनले दाबी गरे ।
२०८२ फागुन ३ गते आइतवार १७:२२ बजे प्रकाशित






















