इनिसा विक हत्याकाण्ड: बलपूर्वक यौनसम्पर्कले मृत्यु
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्तस्राव भएका कारण भएको पुष्टि भएको छ।
विशेषज्ञ चिकित्सकको टोलीले प्रहरीलाई बुझाएको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको प्रारम्भिक कारण खुलेको हो।
पोस्टमार्टममा संलग्न चिकित्सकका अनुसार मृतकको ढाडमा घस्रिएको चोटपटक लागेको थियो भने यौनांगको बाहिरी र भित्री भाग च्यातिएको पाइएको छ।
‘यौनांगमा भएको गहिरो चोटका कारण अत्यधिक रक्तस्राव भएको पाइयो, जसका कारण उनको मृत्यु भयो,’ भेरी अस्पतालका फोरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यले भने, ‘बलपूर्वक यौनसम्पर्क भएको देखिन्छ, जसले यौनांगको भित्री र बाहिरी दुवै भागमा चोट लागेको देखियो।’
शनिबार उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। प्रहरी र स्थानीयले उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याए पनि चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आरोपमा चार नाबालकलाई पक्राउ गरेको छ। उनीहरूको बयान र पोस्टमार्टम रिपोर्टका आधारमा जबर्जस्ती करणी भएको पुष्टि भएको कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले बताए।
‘भिसेरा परीक्षणपछि थप प्रमाण खुल्न सक्छ, त्यसका लागि रगत र स्वाब संकलन गरेका छौं,’ उनले भने, ‘हाइमन च्यातिएर अत्यधिक रक्तस्राव भएको पाइयो। आरोपीहरूको बयानमा पनि त्यही कुरा खुलेको छ, दुवै प्रमाणका आधारमा बलात्कारपछि हत्या भएको भन्न सकिन्छ।’
२०८२ फागुन २८ गते बिहीवार १७:०८ बजे प्रकाशित






















