ओली–लेखक पक्राउबारे रवीको जवाफ : न्याय पाउने पहिलो हक शहीदकी आमाको
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक को पक्राउविरुद्ध प्रतिनिधिसभाको पहिलो बैठकमा भएको विरोधप्रति जवाफ फर्काएका छन्।
बिहीबारको बैठकलाई सम्बोधन गर्दै लामिछानेले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताए।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै उनले भने,
“न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, यसलाई प्रतिशोधन भन्न पाइनेछैन।”
साथै, उनले विपक्षी दलहरूलाई विधि पालना गर्न आग्रह गरे।
लामिछानेले सत्ता छाड्नुपरेपछि हुने भनिने विदेशी चलखेलको आरोप अब नहुने बताए।
“सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने खेल अब हुनेछैन। पारदर्शी परराष्ट्र नीति अब हुनेछ। यसले पहिले राष्ट्रहित सुनिश्चित गर्नेछ।”
उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शिता र सुरक्षाको ग्यारेन्टी पनि दिएका छन्।
२०८२ चैत १९ गते बिहीवार १८:४९ बजे प्रकाशित






















