सेयर बजारबारे अर्थमन्त्री वाग्लेको आश्वासन: नआत्तिनुहोस्, सुधारका काम अघि बढ्छन्”
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक रूपमा आतंकित पार्ने काम भइरहेको बताएका छन्। आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँगको भेटमा उनले बजारमा फैलाइएको त्रासप्रति नआत्तिन लगानीकर्तालाई आग्रह गरेका हुन्।
सरकारले लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखेको स्पष्ट पार्दै उनले अनैतिक कार्यमा संलग्न व्यक्तिलाई मात्र कानुनअनुसार कारबाही गरिने बताए।
उनका अनुसार नेपालको सेयर बजार अन्य क्षेत्रको तुलनामा बढी व्यवस्थित र पारदर्शी छ। “पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा जाने व्यवस्था, स्पष्ट कर प्रणाली तथा किनबेचको ट्र्याक राख्न सकिने भएकाले बजार विश्वसनीय छ,” उनले भने।
सरकारले सेयर बजारलाई डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिएको पनि उनले बताए। तर इन्साइडर ट्रेडिङ, म्यानिपुलेसनजस्ता अनैतिक गतिविधि भएमा विद्यमान कानुनअनुसार कारबाही हुने उनले स्पष्ट पारे।
“अहिले लगानीकर्ता प्यानिक हुन आवश्यक छैन, आगामी दिनमा बजार सुधारका लागि काम अघि बढाइन्छ,” उनले भने। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर आवश्यक सुधार गरिने पनि उनले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रमा उल्लेखित बुँदाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै उनले सेयर बजारप्रति सरकार उदार रहेको बताए।
सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधका विषयमा विगतदेखि भएका अनुसन्धान प्रमाणका आधारमा अघि बढाइएको उनले बताए। “कुनै संस्था वा व्यक्तिलाई लक्षित गरेर कारबाही गर्ने हाम्रो उद्देश्य छैन, हामी खुला बजार अर्थनीतिमा विश्वास गर्छौं, तर त्यसको अर्थ छाडा अर्थतन्त्र होइन,” उनले स्पष्ट पारे।
२०८२ चैत २३ गते सोमवार १८:१२ बजे प्रकाशित























