म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइँदैन : सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले आफू शक्तिशाली र लोकप्रिय भएको आधारमा मनलाग्दी निर्णय गर्न नपाउने बताएका छन्।
नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानको कोशी प्रदेशस्तरीय कार्यक्रममा शुक्रबार बोल्दै थापाले सरकार सधैँ संविधान, कानुन, ऐन र नियमको दायराभित्र रहनुपर्नेमा जोड दिए।
उनले भने, “म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइँदैन। प्रधानमन्त्री संविधान, कानुन र नियमले बाँधिएको हुन्छ, उहाँ त्यही सीमाभित्र रहनुपर्छ।”
थापाले सरकार कानुनभन्दा बाहिर गएमा नेपाली कांग्रेसले त्यसको विरोध गर्ने दाबी गर्दै भने, “सरकार बहुमत छ भन्दै कानुन विपरीत ढंगले अघि बढ्छ भने कांग्रेस जीवित छ।”
उनले सरकारको व्यवहारप्रति टिप्पणी गर्दै सुकुमबासी बस्तीमा “झोक चलेको भरमा” डोजर चलाउन नहुने र व्यवसायीलाई प्रहरी प्रयोग गरेर जबर्जस्ती मन्त्रालयमा ल्याउन नपाइने बताए।
“मन लाग्यो भनेर बिहानै सुकुमबासी बस्तीमा डोजर लगाउन पाइँदैन,” उनले भने, “मन्त्रीलाई भेट्ने बहानामा व्यवसायीलाई प्रहरी लगाएर उठाएर ल्याउन पाइँदैन।”
थापाले अघिल्लो र वर्तमान दुवै सरकारप्रति संकेत गर्दै अघिल्लो सरकारले धेरै बोलेर विपक्षीलाई दबाउने प्रयास गरेको र वर्तमान सरकारले मौन बसेर वा व्यवहारबाटै विपक्षीलाई दबाएको टिप्पणीसमेत गरे।
उनको भनाइको सार भने सरकार जतिसुकै शक्तिशाली वा लोकप्रिय भए पनि संविधान र कानुनभन्दा माथि हुन नसक्ने हो।
२०८३ जेठ ८ गते शुक्रवार १८:४६ बजे प्रकाशित























