विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
काठमाडौं । विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक मंगलबार दिउँसो १ बजे पुन: बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन्।
सोमबार स्थगितपछि पुन: सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गरेका हुन्।
बैठक सञ्चालनका क्रममा सभामुख अर्यालले संसद् कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका थिए। उनले संवाद र सहमतिमार्फत समस्या समाधान गर्नुपर्ने धारणा पनि राखेका थिए।
तर विपक्षी सांसदहरूले विरोध कायम राखेपछि बैठकको कारबाही अघि बढ्न नसकेको र अन्तत: मंगलबारसम्मका लागि स्थगित गरिएको हो।
प्रधानमन्त्री शाहले संसद्मा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले उक्त भनाइ फिर्ता लिन, माफी माग्न तथा संसदीय अभिलेखबाट हटाउन माग गर्दै आएका छन्। यही विषयलाई लिएर संसद्का दुवै सदनमा लगातार अवरोध भइरहेको छ।
२०८३ जेठ १८ गते सोमवार १७:३८ बजे प्रकाशित























