रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग हटाउन आदेश दिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सुमन खनाललगायतको जाहेरीका आधारमा दर्ता भएको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनका लागि अदालतमा निवेदन दायर गरेको थियो।
अदालतले उक्त निवेदन स्वीकार गर्दै सङ्गठित अपराधसम्बन्धी अभियोग हटाउन अनुमति दिएको छ। यद्यपि, रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् कायम रहने अदालतले जनाएको छ।
यस आदेशसँगै लामिछानेमाथि रहेको सङ्गठित अपराधको आरोप हटेको भए पनि सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी प्रक्रिया भने निरन्तर अगाडि बढ्नेछ।
२०८३ असार ५ गते शुक्रवार १७:२७ बजे प्रकाशित























