"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सप्तरी र कैलालीमा जापानिज इन्सेफ्लाइटिसबाट चार जनाको मृत्यु

सप्तरी । सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार राम रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य अधिकृत शतिश यादवका अनुसार दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो । यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र रामको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्वास्थ्य अधिकृत यादवका अनुसार जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट थप तीन जना संक्रमित भएका थिए । उनीहरू उपचारपछि घर फर्किसकेका छन् । तीमध्ये दुई जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

हाल जापानिज इन्सेफ्लाइटिसको जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । विशेषगरी साँझपख घरबाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका कपडा लगाउने र सुत्दा झुलको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन स्वास्थ्य कार्यालयले सुझाव दिएको छ ।

यसैबीच, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ । नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराका अनुसार घोडाघोडी नगरपालिका–४ र ९ का दुई महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ३४ र ७० वर्षीया महिला रहेका छन् ।

सिनियर अहेब बोहराका अनुसार घोडाघोडी नगरपालिकामा पछिल्ला तीन वर्षदेखि जापानिज इन्सेफ्लाइटिसका बिरामी देखिन थालेका छन् । अघिल्लो आर्थिक वर्षमा वडा नं। ४ का एक जनामा संक्रमण देखिए पनि उपचारपछि उनी निको भएका थिए ।

आर्थिक वर्ष २०८१र८२ मा वडा नं। ५ र ६ का दुई जनामा संक्रमण देखिएको थियो । चालु आर्थिक वर्षमा भने संक्रमणका कारण दुई जनाको मृत्यु भएको हो ।

जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । संक्रमित सुँगुर वा बङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस मानिसमा सर्न सक्छ । त्यसैले लामखुट्टेको टोकाइबाट जोगिनुका साथै घर वरिपरि सरसफाइमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

संक्रमण देखिएपछि घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार आकस्मिक बैठक बोलाएर रोगको अवस्था र रोकथामका उपायबारे छलफल गरेको छ ।

नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत जापानिज इन्सेफ्लाइटिसको जोखिम, लक्षण तथा बच्ने उपायबारे समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सिनियर अहेब बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाभित्र रहेका ८४ वटा आमा समूहलाई समेत परिचालन गरी रोगका लक्षण, रोकथामका उपाय र समयमै स्वास्थ्य संस्था पुग्नुपर्ने विषयमा समुदायलाई जानकारी गराइनेछ ।

अत्यधिक ज्वरो आउने, बेहोस हुनेलगायतका लक्षण देखिएमा बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । लामखुट्टेको टोकाइबाट जोगिन झुल प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने र सरसफाइमा विशेष ध्यान दिनसमेत उनीहरूले सुझाव दिएका छन् ।

२०८३ भदौ ४ गते बिहीवार २०:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु