आफन्त फर्किने आशामा ठाँटीपोखरीका आँखा बाटोतिर, एकपछि अर्को शव भेटिँदा गाउँ शोकमा
सुलीकोट। भोटेकोशीको बाढीमा आफन्त बेपत्ता भएपछि पालुङटारवासीको दिन मोबाइलको घन्टी र बाटोतर्फको नजरमै बितिरहेको छ। जीवितै भेटिने आशा बोकेका परिवारले पछिल्ला दिनमा भने एकपछि अर्को आफन्तको शव भेटिएको खबर सुन्न थालेका छन्।
गोसाइँकुण्ड तीर्थयात्राका क्रममा भोटेकोशीको बाढीमा बेपत्ता भएकामध्ये पालुङटार नगरपालिका–६ की सुमी कुमाल तथा पालुङटार–५ का केदार पण्डित र कमला देवकोटाको शव फेला परेको छ। केदारको शव पहिचानपछि दाहसंस्कारसमेत गरिएको छ।
भदौ १० गते नुवाकोटको ल्हेन्देखोला क्षेत्रमा आएको बाढीले ग २ ख ११५२ नम्बरको मिनीबस बगाउँदा ३६ जना यात्रु जोखिममा परेका थिए। तीमध्ये छ जनाले हामफालेर ज्यान जोगाए पनि अन्य यात्रुको अवस्था लामो समयसम्म अज्ञात रह्यो। अहिले खोजीका क्रममा शव भेटिन थालेका हुन्।
ठाँटीपोखरीमा अझै पनि बेपत्ता आफन्त फर्किने आशा परिवारले छाडेका छैनन्। बिहानदेखि साँझसम्म चोक र चौतारामा गाउँलेहरू भेला हुन्छन्। मोबाइलमा फोन आउँदा हराएको आफन्तको खबर पो आयो कि भन्ने आशाले सबैको ध्यान त्यतैतिर पुग्छ।
तीर्थयात्रामा गएका पालुङटार–५ का दिलबहादुर खत्री र उनकी पत्नी मुरारी खत्री पनि अझै सम्पर्कविहीन छन्। उनीहरू घरबाट निस्किएदेखि परिवारजन पर्खाइमा छन्।
केदार पण्डितको शव भेटिए पनि उनकी पत्नी सरिता अधिकारी अझै बेपत्ता छिन्। चार वर्षीया छोरी कृष्टिनाले भने अझै ‘ममी बाबा कहिले आउनुहुन्छरु’ भन्दै प्रश्न गरिरहेकी छन्।
स्थानीयका अनुसार अहिले ठाँटीपोखरीमा दुःख एउटा घरमा मात्र सीमित छैन। एकअर्काको पीडामा गाउँ नै सहभागी बनेको छ। आफन्तको खोजीमा कोही अस्पताल र नदी किनारतिर दौडिरहेका छन् भने कोही घरमै फर्किने आशा बोकेर बसेका छन्।
सुमी, केदार र कमलाको शव भेटिए पनि बेपत्ताको खोजी अझै जारी छ। ठाँटीपोखरीका परिवारको आशा भने अझै टुटेको छैन—कतैबाट हराएको आफन्तको खबर आइहाल्छ कि भन्ने प्रतीक्षामा गाउँका आँखा अझै बाटोतिर छन्।
२०८३ भदौ १६ गते मंगलवार १०:४८ बजे प्रकाशित























