ट्रम्प–सी वार्तामा व्यापारदेखि ताइवानसम्मका विषय उठ्ने
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार ह्वाइट हाउसमा हुने वार्तामा व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता, महत्वपूर्ण खनिज र क्षेत्रीय सुरक्षा मुख्य विषय बन्ने भएका छन् ।
वार्ताअघि अमेरिका र चीन व्यापार युद्धविरामलाई दुई महिना थप गरी जनवरी १० सम्म कायम राख्न सहमत भएका छन् । यसअघि युद्धविराम नोभेम्बर १० मा सकिने तय थियो ।
दुर्लभ माटो तथा महत्वपूर्ण खनिजको आपूर्ति, उन्नत प्रविधि र चिप्सका विषयमा दुई देशबीच मतभेद रहँदै आएको छ । कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय सुरक्षा जोखिमबारे सूचना आदानप्रदान गर्ने संयन्त्र निर्माणका विषयमा पनि छलफल हुन सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन् ।
यस्तै, इरान र मध्यपूर्वको द्वन्द्व तथा ताइवानको विषय पनि वार्तामा उठ्ने अपेक्षा गरिएको छ । चीनले ताइवानसम्बन्धी अमेरिकी गतिविधिप्रति आपत्ति जनाउँदै आएको छ भने अमेरिकाले ताइवानलाई सुरक्षा सामग्री उपलब्ध गराउँदै आएको छ ।
व्यापार र सुरक्षासम्बन्धी मतभेद कायमै रहे पनि दुवै पक्ष सम्बन्ध थप तनावपूर्ण हुन नदिन संवादलाई निरन्तरता दिने प्रयासमा छन् ।
२०८३ असोज ८ गते बिहीवार १४:५५ बजे प्रकाशित























