"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

संरचनागत सुधार नगरी निगममा जहाज थप्नुको औचित्य छैन – मन्त्री पौडेल

काठमाडौँ, असोज १६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले निगमको प्रशासनिक संरचना र व्यवस्थापनमा सुधार नगरेसम्म जहाज थपेर मात्रै निगमको अवस्था सुधार्न नसकिने बताएका हुन् ।

उनले निगम लामो समयदेखि राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनको समस्यामा रहेको उल्लेख गर्दै सुधारका लागि आवश्यक सरकारी हस्तक्षेप जरुरी रहेको बताए । महाप्रबन्धक नियुक्तिसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले नयाँ नियुक्तिमा कानुनी अड्चन रहेको उनको भनाइ छ ।

निगमका सीमित जहाजमध्ये एउटामा समस्या आउँदा उडान पुनःतालिकीकरण र यात्रु व्यवस्थापनमा समेत ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था रहेको मन्त्री पौडेलले बताए । समयमै निर्णय लिन नसक्ने संयन्त्र र व्यवस्थापकीय कमजोरी निगम सुधारका मुख्य चुनौती रहेको उनले उल्लेख गरे ।

संरचनागत सुधार, चुस्त व्यवस्थापन र समयमै निर्णय गर्न सक्ने संयन्त्र विकासलाई प्राथमिकता दिइएको भन्दै मन्त्री पौडेलले सुधारसम्बन्धी कार्ययोजना तयार भइरहेको जानकारी दिए । उक्त योजना संसदीय समितिमा पेस गरी कार्यान्वयनमा ल्याएपछि मात्रै निगममा थप जहाज भित्र्याउने प्रक्रिया अघि बढाइने उनले बताए ।

२०८३ असोज १६ गते शुक्रवार ११:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु