दानबहादुर कार्कीलाई हटाउने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
काठमाण्डौ – नेपाल प्रहरीका महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । साथै अन्तरिम आदेशबारे छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई बोलाउने आदेश दिएको छ ।
कार्कीले प्रहरी ऐन र नियमावलीविपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित रिट दायर गर्नुभएको थियो । उहाँले नवनियुक्त आईजीपी डा. मनोज केसीलाई कामकाज गर्न रोक्नसमेत अन्तरिम आदेश माग गर्नुभएको थियो ।
२०८३ मंसिर २ गते बुधवार १५:४७ बजे प्रकाशित























