एमाले कार्यकर्तालाई ओलीको निर्देशन, आन्दोलनका लागि तयार रहनू
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै आन्दोलनका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले देशको रक्षा र पार्टीको सफलता सुनिश्चित गर्न आन्दोलनको विकल्प नरहेको बताउनुभयो।
ओलीले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै प्रहरीको पक्राउ शैलीप्रति असन्तुष्टि जनाउनुभयो। उहाँले तत्काल वा तिहार र छठपछि आन्दोलन गर्नुपर्ने हुन सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गर्नुभयो।
उहाँले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमालेविरुद्धका योजनालाई विफल पार्ने गरी चुनावमा जुट्न पनि नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो।
२०८३ कात्तिक ११ गते बुधवार १७:३५ बजे प्रकाशित























