शैक्षिक सत्र २०८४ का पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि सूचीकरण सुरु
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि कक्षा १, २ र ४ का पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न प्रकाशक र वितरकको सूचीकरण प्रक्रिया सुरु गरेको छ।
केन्द्रले यसपटक पाठ्यपुस्तक वितरणमा कडाइ गर्दै शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र विद्यालयमा पुस्तक पुगे–नपुगेको अनुगमन गरी अनिवार्य रूपमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरेको छ।
सूचीकरणका लागि इच्छुक फर्म तथा संस्थाले दर्ता प्रमाणपत्र, करसम्बन्धी कागजात, लेखापरीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ। त्यस्तै, कम्तीमा ५ हजार वर्गफिट क्षमताको गोदाम र आवश्यक छपाइ तथा बाइन्डिङ मेसिनको व्यवस्था भएको प्रमाण पनि बुझाउनुपर्नेछ।
केन्द्रले पुस्तकको गुणस्तर कायम गर्न र देशभरका ७७ वटै जिल्लामा सहज वितरण गर्न आवश्यक सञ्जाल तथा प्रतिबद्धता पेस गर्नुपर्ने व्यवस्था गरेको छ।
तोकिएका मापदण्ड र सर्त पालना नगरेमा वा पेस गरिएका विवरण झुटो ठहरिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने केन्द्रले जनाएको छ।
२०८३ कात्तिक २८ गते शनिवार १५:२० बजे प्रकाशित























