"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोप–३१ मा नेपालका पाँच सांसद सहभागी हुँदै

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका पाँच जना सांसद सहभागी हुने भएका छन्।

प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच सांसद सम्मेलनमा सहभागी हुन टर्किए जान लागेका हुन्। टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ।

सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, हानि तथा क्षति र स्वच्छ ऊर्जा संक्रमणका विषयमा छलफल भइरहेको छ। नेपालले हिमाल तथा हिमनदी संरक्षण, जलवायु न्याय, अनुदानमा आधारित जलवायु वित्त र जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको छ।

सभामुखस्तरीय निर्णयअनुसार चौधरीसहित आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की र कमल सुवेदी सम्मेलनमा सहभागी हुनेछन्। सभापति चौधरीले संघीय संसद् सचिवालयलाई आर्थिक भार नपर्ने गरी भ्रमण गर्न लागेको बताएका छन्।

२०८३ कात्तिक २८ गते शनिवार १५:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु