सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन
काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीपङ्क्तिलाई मानसिक र साङ्गठनिक रूपमा तयार रहन निर्देशन दिनुभएको छ ।
आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै उहाँले मुलुकको राजनीतिक परिस्थितिअनुसार तत्काल आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।
ओलीले आन्दोलनका लागि सधैँ लामो तयारी आवश्यक नपर्ने उल्लेख गर्दै परिस्थिति असहज बने तत्काल आन्दोलन सुरु हुन सक्ने बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको मानसिकतासहित सधैँ तयार रहन आग्रह गर्नुभयो ।
नागरिकमा निराशा र बेचैनी बढ्दै गएको उल्लेख गर्दै उहाँले एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचनमार्फत पार्टी निर्माण गर्नेभन्दा बलियो सङ्गठनसहित निर्वाचनमा सहभागी हुनुपर्ने उहाँको भनाइ थियो ।
२०८३ मंसिर १ गते मंगलवार १६:०९ बजे प्रकाशित























