स्थानीय तह र प्रदेशसभा चुनाव एकैपटक गर्ने विषयमा दलहरूबीच छलफल
काठमाण्डौ – स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा फरक–फरक समयमा गर्ने विषयमा निर्वाचन आयोगले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ ।
छलफलमा दुवै तहको चुनाव एकैपटक गर्दा लाग्ने खर्च, व्यावहारिकता र संवैधानिक व्यवस्थाबारे परामर्श भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
बैठकमा विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने, प्रविधिमैत्री निर्वाचन प्रणाली अपनाउने, बदर मत घटाउने तथा निर्वाचनका विषयमा राजनीतिक सहमति खोज्न उच्चस्तरीय संयन्त्र बनाउने विषयमा पनि छलफल भएको थियो ।
कांग्रेस सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनसम्बन्धी संवैधानिक तथा व्यावहारिक पक्षमा थप छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।
कानुनी व्यवस्थाअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ जेठ ५ गते र प्रदेशसभा सदस्यको कार्यकाल चैत ५ गते सकिँदैछ ।
२०८३ मंसिर ४ गते शुक्रवार १५:५८ बजे प्रकाशित























