प्रधानमन्त्रीको भारत भ्रमणदेखि चीनको अनुदानसम्म, मन्त्रिपरिषद्का यस्ता छन् निर्णय
काठमाण्डौ – सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ र ७ गते हुने भारत भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गर्दै नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो ।
बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिनुभयो ।
यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने १० करोड ७० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ ।
सरकारले नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको लगत तयार गर्ने निर्णय पनि गरेको छ ।
बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), सम्पदा संरक्षणसम्बन्धी मापदण्ड र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गरेको छ ।
संसद् अधिवेशन बोलाउने र अध्यादेश ल्याउने विषयमा भने बैठकले कुनै निर्णय नगरेको मन्त्री तिमल्सिनाले स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको उहाँले बताउनुभयो ।
२०८३ मंसिर ४ गते शुक्रवार १६:१३ बजे प्रकाशित























