सर्लाहीका ३९७ परिवारले पाए लालपुर्जा
सर्लाही – सर्लाहीको विष्णु गाउँपालिका–५ फेन्हरा र वडा नम्बर ६ सिमरा गाउँका ३९७ परिवारले जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० पाएका छन् ।
वर्षौँदेखि गाउँ ब्लक जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई नापी कार्यालय मलङ्गवाले प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो । २०७१ सालमा नाप, नक्सा गरिएको जग्गाको लालपुर्जा अहिले तयार गरी वितरण गरिएको नापी कार्यालयका प्रमुख सुमनकिशोर मिश्रले जानकारी दिनुभयो ।
पालिकामै पुगेर अधिकांश लालपुर्जा वितरण गरिसकिएको र छुटेकाहरूले मलङ्गवास्थित कार्यालयबाट बुझिरहेको उहाँले बताउनुभयो ।
विष्णु गाउँपालिकामा अझै ३० प्रतिशत गाउँ ब्लक जग्गा दर्ता हुन बाँकी छ । नापी कार्यालयले यस वर्ष गाउँ ब्लकमा बसोबास गर्ने करिब चार हजार परिवारलाई लालपुर्जा वितरण गर्ने योजना बनाएको छ ।
लालपुर्जा पाएपछि जग्गाको स्वामित्वसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सहज हुने भन्दै स्थानीय खुसी भएका छन् । गाउँपालिका अध्यक्ष जवाहारलाल यादवले बाँकी जग्गाको दर्ता प्रक्रिया पनि तत्काल अघि बढाउन माग गर्नुभएको छ ।
२०८३ मंसिर ३ गते बिहीवार १६:५८ बजे प्रकाशित























