कुनै पनि व्यक्ति खोपबाट वञ्चित हुन नपरोस् – प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई प्रभावकारी रुपमा आधारभूत सेवा उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताउँदै यसमा लाग्न सबैलाई आग्रह गरेका छन् । सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास प्राथमिकता चालु आर्थिक वर्षको पाँच महिनाको प्रगति र सुशासन प्रवद्र्धन सम्बन्धमा नेपाल सरकारका सबै मन्त्री र सचिवलाई निर्देशन दिँदै आज उनले सो कुरा बताएको हो ।
जाडो बढेसँगै हिमपात र शीतलहरले जनजीवन प्रभावित भएको उल्लेख गर्र्दै उनले जनतालाई आवश्यक सेवा प्रदान गर्न निर्देशन दिए । साथै प्रधानमन्त्री देउवाले कृषिप्रधान मुलुकमा मलखाद र बीउको कुनै कमी हुन नदिनसमेत आग्रह गरे ।
विकास निर्माण र जनतालाई सेवा दिने काममा अवरोधका रुपमा देखिने कानुनी समस्या समाधानका लागि लाग्न निर्देशन दिँदै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सबै सचेत रहेको र यसलाई नियन्त्रण गर्न सबैको सहयोगको अपेक्षा गरे । मुलुक जलस्रोतको अपार भण्डारण भएकाले लगानीकर्तालाई आकर्षित गरेर बढीभन्दा बढी जलविद्युत् उत्पादन गरी निर्यात गर्न सकिनेमा उनको जोड थियो ।
प्रधानमन्त्री देउवाले भने, “मुलुक अहिले धेरै किसिमले समस्यामा छ, कोभिड–१९ ले पनि ठूलो समस्या ल्याएको छ । बेमौसमी वर्षा र बाढी धेरै क्षति पु¥याएको छ । विपक्षी पार्टीले संसद् सुचारु गर्न नदिएर अर्को समस्या खडा गरेको छ । यसले संसद्मा महत्वपूर्ण विषयमा गर्नुपर्ने छलफल हुन सकेको छैन । संसद्मा होहल्लाका बीचमा कतिपय कुरा पास गरेका छौँ, त्यो उचित त होइन तैपनि गर्नुपर्ने बाध्यता छ ।”
विकास निर्माणमा कार्यान्वयको समस्या पुरानै रहेको बताउँदै उनले समाधानका लागि विकासे मन्त्रालय र अर्थ मन्त्रालयबीच निरन्तर छलफल र सल्लाह गरेर अघि बढ्न निर्देशन दिए । राष्ट्रिय गौरवका आयोजनामा अपेक्षित प्रगति हुन नसकेको बताउँदै उनले सम्बन्धीत निकायलाई ध्यान दिन निर्देशन दिए।
कोभिड–१९ का बेला सरकारले धेरै महत्वपूर्ण निर्णय गरेको जानकारी गराउँदै उनले निःशुल्करुपमा कोभिडविरुद्धको खोप वितरण गर्ने नीतिले सफलता हासिल गरेको बताए । अझै पनि यसलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिँदै उनले खोप सहयोग गर्ने मुलुक तथा बहुपक्षीय निकायलाई धन्यवादसमेत दिए ।
“सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनाताको जीवन हो । सबैको जीवन बचाउनुछ । अझै पनि कोभिडको समस्या हुन सक्छ । त्यसकारण प्राथमिकतामा राखेर खोपको मात्रा बढाउनुछ । कुनै पनि व्यक्ति खोपबाट वञ्चित हुन नपरोस् । खोपका सम्बन्धमा जनतालाई अझै सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता पनि मैले देखेको छु”, प्रधानमन्त्री देउवाले भने ।
२०७८ पुस २१ गते बुधवार २०:०१ बजे प्रकाशित





















