कात्तिक १५ देखि नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क उठाइने
काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि टोल शुल्क सङ्कलन सुरु हुने भएको छ ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णयअनुसार सवारीसाधनको वर्ग र आवागमनको दिशाका आधारमा शुल्क निर्धारण गरिएको हो ।
निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
मिनीबस तथा मिनी ट्रकले प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, सिङ्गल रियर एक्सल भएका बस तथा ट्रकका लागि प्रवेशमा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।
मल्टिएक्सल ट्रक, अन्य भारी सवारीसाधन तथा भारी उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
२०८३ कात्तिक १२ गते बिहीवार १३:३४ बजे प्रकाशित





















