ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ, पक्राउ पर्नेको संख्या ७ पुग्यो
काठमाडौं ।ललिता निवास प्रकरणमा सुधीरकुमार शाह पक्राउ परेका छन् । शाह पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ । एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंका फरक फरक स्थानबाट पूर्व कर्मचारीसहित अन्य चारजनालाई नियन्त्रणमा लिएको हो ।
सीआईबी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेका छन् । २०४९ सालदेखि २०६६ सालमा झन्डै १७ वर्ष सरकारी सेवामा रहँदा उनीहरुले भूमिसुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय कार्यरत थिए।
यस प्रकरणमा प्रहरीले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई मंगलबार नै काठमाडौंस्थित निवासबाट पक्राउ गरी सकेको छ ।
ललिता निवासको सरकारी जग्गा उनीहरुसँगको मिलेमतोमा राजनीतिक नेतृत्वदेखि अन्य पहुँचवालाले हडपेका थिए । मालपोत कार्यालयका कागजपत्र किर्ते गरेर सरकारी जग्गा हडपिएको यो प्रकरण लामो समय सेलाएपछि सरकारले फेरि ब्यूँत्याएर अनुसन्धान अघि बढाएको हो।
२०८० असार १२ गते मंगलवार २०:२७ बजे प्रकाशित























